काठमाडौं,०५ फागुन । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूमध्ये हालसम्म दुई सय जनाको मात्र वर्गीकरण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राप्त विवरणका आधारमा हालसम्म सीमित संख्यामा मात्रै वर्गीकरण सम्भव भएको हो।
उनका अनुसार कात्तिक र मंसिर महिनामा १८३ जना, पुसमा १६ जना र माघमा एक जना गरी कुल २०० जना घाइतेको वर्गीकरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत घाइतेको विवरण संकलन गर्ने प्रयास भए पनि बारम्बार सूचना जारी गर्दा पनि धेरै घाइते सम्पर्कमा नआएको जानकारी प्राप्त भएको उनले बताए।
मन्त्रालयले अब निश्चित समयसीमा तोकेर बाँकी घाइतेको वर्गीकरण तथा नयाँ विवरण संकलन प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। सामान्य प्रकृतिका घाइतेलाई विशेष सुविधा नहुने कारणले पनि धेरै व्यक्ति सम्पर्कमा नआएको हुन सक्ने मन्त्रालयको अनुमान छ।
मन्त्रालयको तथ्यांकअनुसार जेनजी प्रदर्शनका क्रममा कुल २ हजार ५९९ जना घाइते भएका थिए।




