सप्तरी,०५ फागुन । प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार अवधि सुरु भएसँगै चुनावी अभियानमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले निगरानी कडा बनाएको छ। यसक्रममा सोमबार प्रचारमा प्रयोग भइरहेका दुई वटा गाडी नियन्त्रणमा लिएर पछि छाडिएको प्रहरीले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा खटिएको टोलीले ती गाडी नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरी–२ मा स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहको प्रचारमा प्रयोग भइरहेको बीआर ११ पीबी ८६१० नम्बरको गाडी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचारमा प्रयोग भइरहेको बीआर ६७ पीबी ८९५६ नम्बरको गाडी आचारसंहिता विपरीत प्रयोग भएको पाइएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार आगामी दिनमा निर्वाचन आचारसंहिता उल्लंघन नगर्ने सर्तमा कागजी प्रक्रिया पूरा गराएर गाडीहरू छाडिएको हो।
पत्रकारमाथि दुर्व्यवहारको आरोप
यसैबीच, नियन्त्रणमा लिइएका गाडीबारे रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार भएको आरोप लागेको छ। ग्लोबल टेलिभिजनका पत्रकार रूपेश यादव, पत्रकार रामशंकर भण्डारी र प्रवेश मिश्राले तस्वीर खिच्ने क्रममा एक प्रहरी कर्मचारीले फोटो मेटाउन दबाब दिएको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालयले सुरुवाती चरणमा केही अवरोध भएको स्वीकार गर्दै पछि सहजीकरण गरी पत्रकारलाई तस्वीर खिच्न दिइएको जनाएको छ।




