काठमाडौं,०५ फागुन । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनका लागि नेपाल आएका नागा बाबा तथा विभिन्न सम्प्रदायका साधुसन्तलाई आज दान–दक्षिणासहित औपचारिक रूपमा बिदाइ गरिने भएको छ। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोष ले परम्पराअनुसार फागुन कृष्ण औँसीका दिन साधुसन्तलाई बिदाइ गर्ने तयारी गरेको हो।
संस्थानका पूर्वउपप्रशासक दीपकबहादुर पाण्डेका अनुसार विसं १८३१ मा जगतजङ्गले जगन्नन्द प्रकाशेश्वर गुठी स्थापना गरेपछि साधुसन्त बिदाइ गर्ने परम्परा सुरु भएको हो। बिदाइका लागि संस्थानले करिब ३० लाख रुपैयाँ बजेट छुट्याएको छ। नागा बाबा तथा साधुसन्तलाई आगमनकै दिन रङअनुसारका कार्ड वितरण गरिएको र सोही आधारमा दक्षिणा प्रदान गरिने व्यवस्था रहेको जनाइएको छ।
महाशिवरात्रिको अवसरमा पशुपति परिसर, गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा र निर्मला अखडालगायत स्थानमा नेपाल तथा भारतबाट आएका करिब चार हजारभन्दा बढी साधुसन्त बसेका थिए। विभिन्न सम्प्रदायका साधुहरू फरक–फरक स्थानमा बसोबास गर्दै आएका छन्।
पहिले साधुसन्तलाई थापाथलीस्थित कालमोचनघाटबाट बिदाइ गर्ने परम्परा रहे पनि हाल पशुपतिनाथको पश्चिम मूलढोकाबाट बिदाइ गर्ने प्रचलन रहेको कोषले जनाएको छ। थापाथली कालमोचनघाटका वैरागी, उदासी, सन्यासी र नाथ अखडामा बसेका साधुसन्तलाई भने आजै कालमोचनघाटबाटै बिदाइ गरिनेछ।
पशुपति क्षेत्र विकास कोषले पनि साधुसन्तलाई दक्षिणा तथा भोजनको व्यवस्था गरेको छ। कोषका अनुसार साधुको स्तरअनुसार पाँच हजार एक रुपैयाँदेखि १०१ रुपैयाँसम्म दक्षिणा प्रदान गरिनेछ, जसका लागि करिब आठ लाख रुपैयाँ बजेट छुट्याइएको छ। साथै, वर्षभर पशुपतिनाथमा चढाइएका रुद्राक्ष पहिराएर साधुसन्तलाई बिदाइ गर्ने तयारी गरिएको छ।
महाशिवरात्रिका दिन धुनी जगाउनका लागि करिब ५० हजार किलो दाउरा खरिद गरिएको संस्थानले जनाएको छ। भेटीघाटी व्यवस्थालाई पारदर्शी बनाउने उद्देश्यले लागू गरिएको नियमावलीपछि कोषको भेटी बाकसमा संकलित भेटी रकम हालसम्म करिब १५ करोड रुपैयाँ पुगेको पनि कोषले जानकारी दिएको छ।




