काठमाडौं,०५ फागुन । वैदेशिक रोजगारीका नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ६५ लाख ३३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ का ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौं तार्केश्वर नगरपालिका–७ की ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले विभिन्न देश पठाइदिने भन्दै रकम उठाएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार राईले अष्ट्रिया पठाउने भन्दै ५ लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै ५० लाख, निरौलाले टर्की पठाउने भन्दै २ लाख ३ हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै ७ लाख ५० हजार रुपैयाँ उठाएको आरोप छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।




