सप्तरी,०५ फागुन । मुसहर समुदायले आगामी निर्वाचनमा रक्सी बिक्री–वितरण रोक्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ। विष्णुपुर गाउँपालिका–६, गोरगामा बसोबास गर्ने स्थानीयहरूले मदिरा सेवनबाट उत्पन्न सामाजिक र आर्थिक समस्यालाई मुख्य चुनौती मानेका छन्।
५० वर्षीया कुमीदेवी सदाका अनुसार, “मुसहर समुदायको विकासमा सबैभन्दा ठूलो बाधक रक्सी बनेको छ। दिनभरि मजदूरी गरेर कमाएको पैसा बेलुकी रक्सीमै सकिन्छ। त्यसैले रक्सीमा रोक लगाउने उम्मेदवारलाई मतदान गर्ने योजना बनाएका छौँ।”
स्थानीयहरूले बताएका छन् कि बस्ती नजिकै करिब दर्जनभन्दा बढी रक्सी पसल सञ्चालनमा छन्। ६४ वर्षीया आशोदेवी सदाले भने, “पसल बन्द नभएसम्म समस्या समाधान हुँदैन। घरका पुरुषलाई रोक्न खोज्दा पनि विभिन्न बाटोबाट रक्सी ल्याउँछन्।”
विगत पाँच दशकमा अनेकौँ चुनाव भए, नेताहरू फेरिए, आश्वासन दिइयो, तर मुसहर समुदायको अवस्था परिवर्तन हुन सकेको छैन। त्यसैले रक्सी बिक्री–वितरण बन्द गरी समुदायको जीवनस्तर उकास्ने उम्मेदवारलाई मात्रै मत दिने निर्णय गरिएको बताइएको छ।
वडामा करिब २०० घरधुरी रहेको र रक्सी सेवनका कारण प्रत्येक वर्ष २–४ जनाको मृत्यु हुने गरेको वडाका पूर्व अध्यक्ष बहादुर सदाले जानकारी दिनुभयो। स्थानीयहरूले रक्सी नियन्त्रण नभएसम्म समुदायको समस्याको समाधान सम्भव नहुने स्पष्ट पारेका छन्।




