कलैया,०५ फागुन । बारा निर्वाचन क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर प्रसाद यादवले आज महागढीमाई नगरपालिका–१ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय बासिन्दासँग भेटघाट तथा संवाद गरेका छन्।
घरदैलो अभियानका क्रममा स्थानीयले कृषि, सडक र शिक्षासँग सम्बन्धित समस्याहरू प्रमुख रूपमा उठाएका थिए। बासिन्दाहरूले आफ्नो क्षेत्रका आवश्यकताबारे खुला रूपमा गुनासा र अपेक्षा राख्दा उम्मेदवार यादवले ती विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
यादवले आफू निर्वाचित भएपछि स्थानीयका आवाज सदनसम्म पुर्याएर समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। “जनताले उठाएका प्रत्येक विषय मेरो प्राथमिकता हो, ती आवाजलाई सदनसम्म पुर्याएर समाधान खोज्नेछु,” उनले भने।
कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा पार्टी र उम्मेदवारप्रति समर्थन जनाउँदै सक्रिय रूपमा चुनावी अभियानमा साथ दिने बताएका छन्।




