काठमाडौँ,०५ फागुन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानको संरक्षण, संसदीय सर्वोच्चता र लोकतान्त्रिक स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यसहित आफू प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको बताएका छन्।
मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर–५ जामुनगाछीमा मंगलबार आयोजित चुनावी भेटघाट कार्यक्रममा उनले संसदको भूमिका कमजोर हुँदा राजनीतिक दिशा नै परिवर्तन हुन सक्ने भन्दै संसदमा सशक्त उपस्थितिको आवश्यकता औंल्याए। उनले संसदमा कांग्रेसको प्रभाव बलियो हुनुपर्ने धारणा राख्दै मुलुकको वर्तमान राजनीतिक अवस्था गम्भीर रहेको टिप्पणी गरे।
कोइरालाले नयाँ राजनीतिक दलहरूप्रति जनताले आवश्यक जानकारीसहित निर्णय गर्नुपर्ने उल्लेख गर्दै पुराना दलविरुद्ध नकारात्मक भाष्य र अफवाह फैलाइएको दाबी गरे। ‘जेनजी’ आन्दोलनपछि देशको राजनीतिक अवस्था थप जटिल बनेको उल्लेख गर्दै उनले आगामी निर्वाचनलाई सामान्य चुनावभन्दा फरक, जनमतको अभिव्यक्तिका रूपमा लिनुपर्ने बताए।
उनले विदेशमा रहेका नेपालीलाई पनि देशको वास्तविक अवस्था बुझेर परिवारका सदस्यलाई मतदानका विषयमा सुझाव दिन आग्रह गरे। स्थानीय विकासका सन्दर्भमा उनले विराटनगर महानगरमा विकासको गति बढेको उल्लेख गर्दै वित्तीय सूचकांकमा महानगर अग्रस्थानमा आउनु गर्वको विषय भएको बताए। उनले महानगरको विकासमा दलको नेतृत्वसँगै नागरिकको सहयोग पनि महत्वपूर्ण रहेको बताए।




