बीरगन्ज,०५ फागुन । सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनाको विरोधमा बीरगन्जमा प्रदर्शन गरिएको छ। मंगलबार घण्टाघर क्षेत्रमा स्थानीय, इन्जिनियर तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले नाराबाजी र प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन्।
प्रदर्शनकारीहरूले हत्यारा खुलेआम हिँडिरहेको आरोप लगाउँदै सरकारको मौनताप्रति असन्तोष व्यक्त गरेका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय दिन आग्रह गरेका छन्।
३६ वर्षीय यादवलाई फागुन ३ गते साँझ मलंगवा–१०, देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको थियो। सर्लाहीका प्रहरी उपरीक्षक **योगेन्द्रकुमार खड्का**का अनुसार, यादव सोही दिन बुबाको काजकिरिया सकेर फर्किएका थिए र घर फर्किएलगत्तै आक्रमणमा परेका थिए।
मृतककी श्रीमती पुनम यादवले मोटरसाइकलमा आएका व्यक्तिले बाहिर बोलाएर गोली हानेको बताएकी छन्। गोली देब्रे छातीमा लागेको थियो। प्रहरी नायव उपरीक्षक सरोज राईले प्रारम्भिक अनुसन्धानमा सानो हतियार (पेस्तोल) प्रयोग भएको देखिएको जानकारी दिएका छन्। घटनास्थलबाट गोलीको एक खोका बरामद भएको छ र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, नेपाल इञ्जिनियर्स एसोसिएशन, बीरगन्ज च्याप्टरका सभापति प्रियान्सु गुप्ताले ‘कलम बन्द’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कालोपट्टी बाँधेर शान्तिपूर्ण विरोध गरिएको उनले बताए।
सब–इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसहित मलंगवा–१० मा डेरामा बस्दै आएका थिए।




