spot_img

मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माको रास्वपा परित्याग

spot_img
spot_img

बीरगन्ज,०६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति तथा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्।

शर्माले २०७९ साल साउन १० गतेदेखि निस्वार्थ भावले आफ्नो समय, क्षमता र दक्षता पार्टीलाई समर्पण गर्दै आएको उल्लेख गरेकी छन्। “राजनीतिमा युवा पुस्ताको सहभागिता बढाउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराबाट प्रेरित भएर आफू पार्टीमा आबद्ध भएको उनको भनाइ छ।

आसन्न फागुन २१ गतेको निर्वाचन सन्दर्भमा पार्टीले अपनाएको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धतासँग मेल नखाने अनुभूति भएको उनले बताएकी छन्।

उनका अनुसार संगठनमा सक्रिय रूपमा खटिएका समर्थक तथा कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसक्नु, विधि–विधानविपरीत गतिविधि हुनु, सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नहुनु र निर्णय प्रक्रियामा आर्थिक अनियमितताको प्रभाव देखिनुजस्ता कारणले आफू गम्भीर असन्तुष्ट भएको उल्लेख छ।

“यी सबै गतिविधिको साक्षी भएर मौन रहनु मेरो आत्मसम्मान र राजनीतिक मूल्यप्रति अन्याय हुने ठहर गरी आजकै मितिबाट लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेश गरेकी हुँ,” उनले वक्तव्यमार्फत जनाएकी छन्।

शर्माले पार्टीमा रहँदा पाएको अवसर, सहकार्य र अभिभावकत्वप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि लोकतान्त्रिक मूल्य, सुशासन र पारदर्शिताको पक्षमा दृढ रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय