काठमाडाै,०६ फागुन । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्।
टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका पोखरेलले आफ्ना विकास योजना र पार्टीका एजेन्डा प्रस्तुत गर्दै समर्थन मागिरहेका छन्। बुधबार टोखामा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले देश निर्माणको शक्ति भएको दाबी गरे।
“एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,” उनले भने। विगतमा पनि पार्टीले राष्ट्रहितका पक्षमा काम गर्दै आएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एमालेको जितले देशलाई सही दिशामा अघि बढाउने बताए।
पोखरेलले कार्यकर्ता तथा समर्थकलाई जनताको घरदैलोमा पुगेर पार्टीका नीति तथा कार्यक्रम स्पष्ट पार्न आग्रह गरे। साथै, नागरिकका गुनासा, आलोचना र सुझावलाई सकारात्मक रूपमा लिएर समाधानतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
२१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै उनले काठमाडौं–५ लाई नमुना निर्वाचन क्षेत्र बनाउने उद्देश्यसहित आफू प्रतिबद्ध रहेको बताए। विकास, सुशासन र स्थायित्वका मुद्दा अघि सार्दै पोखरेल मतदातासँग सक्रिय रूपमा भेटघाट गरिरहेका छन्।




