जनकपुर,०६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिँदै नेपाली कांग्रेसमा प्रवेश गर्ने घोषणा गरेकी छन्।
उनी बुधबार जनकपुरमा आयोजना हुने कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा औपचारिक रूपमा पार्टीमा समाहित हुने कार्यक्रम तय भएको जनाइएको छ।
शर्माले “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारालाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएकी छन्।
उनले पार्टीभित्र विधि–विधान विपरीत गतिविधि भएको, क्षमतावान कार्यकर्ताको योगदानको सम्मान नभएको तथा सिद्धान्त र व्यवहारबीच ठूलो अन्तर देखिएको दाबी गरेकी छन्। साथै, आर्थिक अनियमितताको आधारमा निर्णय हुने प्रवृत्तिप्रति असहमति जनाउँदै आफू अब मौन बस्न नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेकी छन्।
उनको कांग्रेस प्रवेशले मधेस प्रदेशको राजनीतिक समीकरणमा केही प्रभाव पार्ने विश्लेषण गरिएको छ।




