सर्लाही,०६ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाहीमा अत्यावश्यक कामबाहेक कर्मचारीलाई बिदा नदिइने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय मलङ्गवामा मंगलबार बसेको कार्यालय प्रमुखहरूको बैठकले निर्वाचन अवधिभर सबै राष्ट्रसेवक कर्मचारी अनिवार्य रूपमा कार्यस्थलमा उपस्थित रहनुपर्ने निर्णय गरेको हो।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको जनाइएको छ। बैठकले निर्वाचनमा खटाइएका कर्मचारीलाई तोकिएको स्थानमा समयमै परिचालन गर्ने तथा आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने निर्णय पनि गरेको छ।
निर्वाचनका लागि सर्लाहीका ६२८ मतदान केन्द्रमा ३ हजार ७६८ कर्मचारी खटाइनेछन्। साथै, निर्वाचन प्रयोजनका लागि आवश्यक सवारी साधनहरू जुनसुकै बेला माग हुन सक्ने भएकाले सबै कार्यालयलाई आफ्ना सवारी साधन चालु अवस्थामा राखी माग भएलगत्तै उपलब्ध गराउन निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार बैठकले हालै पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट भएको हत्याप्रति दुःख व्यक्त गरेको छ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहका क्रममा कुनै असुरक्षा महसुस गरे तत्काल प्रमुख जिल्ला अधिकारी वा सुरक्षा निकायलाई जानकारी गराउने निर्णयसमेत गरेको छ।
निर्वाचन आउन अब दुई साता बाँकी रहँदा जिल्लामा आवश्यक तयारी तीव्र बनाइएको प्रशासनले जनाएको छ।




