काठमाडौ,०६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ले रास्वपा सरकार बनेमा पूर्वाधार विकासलाई तीव्र बनाउने बताएका छन्। बुधबार धनगढीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्धारित समयभन्दा छिटो सडक निर्माण गर्ने आफ्नो एजेन्डा रहेको बताएका हुन्।
“दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन्, त्यसलाई डेढ वर्षमै बनाउनु पर्छ,” उनले भने, “विकासको काम रोकिनु हुँदैन, बाटो बन्नै पर्छ।”
शाहले सुदूरपश्चिम क्षेत्रमा विकास निर्माणमा राजनीतिक स्वार्थ हावी भएको टिप्पणी गर्दै भोटको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। उनका अनुसार रास्वपा सरकारमा पुगेपछि कुनै दल वा समूह हेरेर नभई सबै नेपालीले प्रयोग गर्ने पूर्वाधार निर्माणमा ध्यान दिइनेछ।
उनले कांग्रेस, एमाले वा माओवादी समर्थक भन्ने आधारमा नभई सबै नागरिकका लागि समान रूपमा विकासका काम अघि बढाइने दाबी गरे। रास्वपाले विकास, सुशासन र छिटो कार्यान्वयनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको उनले उल्लेख गरे।




