spot_img

मतदाताले प्रचण्ड र महावीरलाई दिए ‘चुनाव खर्च’

spot_img
spot_img

काठमाडौं,०७ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं रुकुम पूर्वका प्रतिनिधि सभा उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड र म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई मतदाताले नै चुनाव परिचालनको लागि आर्थिक सहयोग दिएका छन्।

प्रचण्डलाई सिस्ने गाउँपालिका–८ का धपेका शहीद परिवारले संयुक्त रूपमा १ लाख ५०५ रूपैयाँ सहयोग गरेका थिए। शहीद हरिचन्द्र पुनका पिता पदमबहादुर पुनले यो रकम हस्तान्तरण गरेका हुन्। सिस्ने–८ नम्बर वडाबाट युद्धकालमा २० जना राज्य पक्षबाट मारिएका थिए र सरकारको निर्णय अनुसार शहीद घोषणा गरिएको थियो।

प्रचण्डको सचिवालयका अनुसार, प्राप्त रकम निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गरिएको थियो। प्रचण्डले शहीद परिवारको सहयोग सांकेतिक भए पनि शक्तिशाली रहेको बताएका छन्।

यसैबीच, म्याग्दीबाट प्रतिनिधि सभा सदस्य बन्न उम्मेदवार बनेका पूर्वमन्त्री महावीर पुनले पनि घरदैलो अभियानको क्रममा मतदाताले आफूलाई पैसा दिइरहेको बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “भोट माग्न गाउँगाउँ जाँदा मतदाताहरूले मलाई चुनाव खर्च दिइरहेका छन्। उम्मेदवारले पैसा बाँड्छ भन्ने सुनिन्छ, तर मलाई उल्टै पैसा दिइरहेका छन्।”

महावीर पुनले दिएको रकम एकीकृत गरी हिसाबकिताब निर्वाचनको अन्त्यमा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मतदाताको सहयोगलाई आफ्नो अभियानमा पारदर्शी रूपमा प्रयोग गर्ने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय