बीरगन्ज,०७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डेयले पटेर्वासुगौली गाउँपालिका–५ का विभिन्न बस्तीमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग संवाद गरेका छन्।
बिहीबार बिहान मनिहर्वा चोकबाट सुरु गरिएको घरदैलो कार्यक्रममा एमालेका नेता–कार्यकर्ता, युवा तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमकै क्रममा पाण्डेय निचुटा गाउँ पुगेका थिए र त्यहाँका बासिन्दासँग प्रत्यक्ष छलफल गर्दै स्थानीय समस्या र आवश्यकताबारे जानकारी लिएका थिए।
जनसंवादका क्रममा उम्मेदवार पाण्डेयले एमाले र आफूविरुद्ध विपक्षीले अफवाह फैलाइरहेको आरोप लगाए। “बढ्दो जनसमर्थन देखेर विपक्षीहरू आत्तिएका छन्। विभिन्न झुठा प्रचार गरेर भ्रम सिर्जना गर्न खोजिएको छ, तर यसले मलाई विचलित बनाएको छैन,” उनले भने।
उनले गाउँ–गाउँमा पुग्दा मतदाताबाट अपार माया र समर्थन पाइरहेको दाबी गर्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे। “विपक्षीले जे भने पनि मलाई जनताको आशीर्वाद चाहिएको हो, जुन म पाउँदै आएको छु,” उनले बताए।
पाण्डेयले पर्सा–३ का बासिन्दाले भोग्दै आएका कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी समस्यामा आफू जानकार रहेको बताउँदै ती समस्या समाधानका लागि प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
घरदैलो कार्यक्रममा पटेर्वासुगौली गाउँपालिकाका पूर्वअध्यक्ष हरिबाबु चौधरीलगायत स्थानीय तहका नेता, कार्यकर्ता, महिला, युवा र ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो।




