काठमाडौं,०७ फागुन । काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीमाथि हातपात तथा दुर्व्यवहार गर्ने सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराई का अनुसार घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुरूप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार उक्त घटनापछि सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो तथा एआईद्वारा सिर्जित श्रव्य–दृश्य सामग्रीहरू प्रसारित भएको विषय प्रहरीको ध्यानाकर्षणमा आएको छ। अनुसन्धान जारी रहेको अवस्थामा यस्ता गलत तथा अपुष्ट सामग्री सार्वजनिक गर्नु आफैंमा कानुनी कारबाहीको विषय बन्न सक्ने प्रहरीले चेतावनी दिएको छ।
प्रवक्ता भट्टराईले सामाजिक सञ्जाल प्रयोग गर्दा सत्यतथ्यमा आधारित सूचना मात्रै साझा गर्न र सार्वजनिक जवाफदेहिताको भावना कायम राख्न सबैलाई आग्रह गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकलाई कानुनको पालना गर्न तथा गलत सूचना फैलाउनबाट टाढा रहन पनि अनुरोध गरेको छ।




