राजविराज,०७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा राजविराजमा बिहीबार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। फागुन ६ गतेदेखि ८ गतेसम्म तीन दिन विविध कार्यक्रमसहित मनाइँदै आएको दिवसको दोस्रो दिन प्रभातफेरी निकालिएको हो।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख तथा मूल समारोह समितिका अध्यक्ष शिवनारायण साहको नेतृत्वमा जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्र परिक्रमा गर्दै पुनः समितिको प्राङ्गणमै पुगेर समापन गरिएको थियो।
कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीन, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली सेना बरखगणका गणपति सोवित बहादुर चन्द, जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम कुमार केसी, सशस्त्र प्रहरी बल नेपाल का प्रहरी उपरीक्षक रोशन बुढाथोकी, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मूल समारोह समितिका अध्यक्ष साहका अनुसार तीन दिनसम्म देशप्रेम, लोकतान्त्रिक मूल्य र ऐतिहासिक आन्दोलनका उपलब्धि सम्झने उद्देश्यले विभिन्न जनचेतनामूलक तथा औपचारिक कार्यक्रमहरू सञ्चालन गरिने छन्।




