जनकपुर,०७ फागुन । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण ले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन्।
२००७ सालको ऐतिहासिक क्रान्तिले जहानियाँ शासन अन्त्य गरी आधुनिक नेपालको आधारशिला राखेको उल्लेख गर्दै उनले प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सात दशकअघिको त्यही परिवर्तनको जगमा टेकेर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको चरणसम्म आइपुगेको उनले उल्लेख गरे।
शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख कर्णले मधेसलाई बलिदानी भूमिको रूपमा स्मरण गर्दै न्याय, समानता र पहिचानको आन्दोलनमा यस क्षेत्रको अग्रणी भूमिकाको चर्चा गरे। प्रदेशको सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई जोगाउँदै समतामूलक र समावेशी समाज निर्माणका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।
उनले लोकतन्त्रलाई केवल राजनीतिक संरचनामा सीमित नगरी जनजीवनमा परिणाम दिने प्रणालीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। सबै पक्षको साझा प्रतिबद्धताबाट मात्र लोकतन्त्रलाई जनमुखी र समावेशी बनाउन सकिने उनको विश्वास छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण अवसरको रूपमा व्याख्या गर्दै उनले नागरिकलाई आफ्ना अधिकारको सचेत र विवेकपूर्ण प्रयोग गर्न आग्रह गरेका छन्। लोकतन्त्रले दिएका अधिकारसँगै नागरिक दायित्वको इमान्दारीपूर्वक पालना भएमा मात्रै व्यवस्था अझ बलियो बन्ने उल्लेख गर्दै उनले प्रजातन्त्र दिवसले आपसी सद्भाव, भ्रातृत्व र विकासप्रतिको सामूहिक प्रतिबद्धतालाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।




