काठमाडौँ,०७ फागुन । गगन कुमार थापा ले गत भदौ २३–२४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा सरकारबाट कमजोरी भएको स्वीकार गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले सो घटनामा भएका प्रशासनिक र राजनीतिक त्रुटीप्रति जिम्मेवारी लिन नेपाली कांग्रेस तयार रहेको बताएका हुन्।
आन्दोलनको समय कांग्रेस सरकारको प्रमुख सहयात्री रहेकाले त्यसबेला भएका निर्णय र व्यवस्थापनका कमजोरीबाट पार्टी अलग हुन नसक्ने थापाको भनाइ थियो। सम्बोधनका क्रममा उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूका परिवारजनप्रति सार्वजनिक रूपमा क्षमायाचना पनि गरे।
उनले २००७, २०४६ तथा २०६३/६४ सालका ऐतिहासिक जनआन्दोलनहरूमा कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै ती उपलब्धिप्रति पार्टी सधैँ गर्व गर्ने बताए। तर, भदौको आन्दोलनमा युवाहरूले उठाएका सवालहरूको समुचित सम्बोधन नगरेसम्म विगतका गौरवगाथाले पूर्णता नपाउने उनको तर्क थियो। अबका दिनमा जेन–जी पुस्ताको भावना, अपेक्षा र आकांक्षाअनुसार पार्टी अघि बढ्ने उनले प्रतिबद्धता जनाए।
थापाले भविष्यमा असैद्धान्तिक तथा अप्राकृतिक गठबन्धन नगर्ने घोषणा गर्दै सत्ता प्राप्तिका लागि मात्र गरिने सहकार्यले लोकतन्त्र र राजनीतिक स्थायित्वलाई कमजोर बनाएको स्वीकार गरे। उनका अनुसार कांग्रेस अब आफ्नै स्पष्ट एजेन्डा र नीतिगत आधारमा अघि बढ्नेछ।
आगामी निर्वाचनलाई नयाँ आशा र भरोसाको अवसरका रूपमा उल्लेख गर्दै उनले विगतका त्रुटीबाट पाठ सिकेर सुधारसहित अघि बढ्नु नै पार्टीका लागि एकमात्र विकल्प रहेको बताए।




