काठमाडौँ,०७ फागुन । केपी शर्मा ओली ले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, वर्तमान व्यवस्थाअन्तर्गतको शान्ति र राष्ट्रिय सार्वभौमसत्ता विरुद्धको योजनाबद्ध आक्रमणका रूपमा चित्रण गरेका छन्। एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुक अहिले विवेक र आवेगको दोबाटोमा उभिएको उल्लेख गरे।
उनले देश बनाउने र भत्काउने दुई फरक सोचबीचको द्वन्द्वले नेपाललाई फेरि प्रयोगशाला बनाउन खोजिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। भदौ २३ को आन्दोलनमा बाह्य घुसपैठ भएको र शान्तिपूर्ण घर फर्किरहेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलेर हिंसा भड्काइएको ओलीको आरोप थियो।
अध्यक्ष ओलीले भने, “संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकको सहारा लिएर प्रणालीमाथि प्रहार गरिनु भएको हो। भदौ २३ को प्रदर्शन स्वतःस्फूर्त थियो कि योजनाबद्ध?” उनले जेनजी प्रदर्शनकारीका सरकार र व्यवस्थाप्रति कुनै स्पष्ट माग नहुँदा पनि प्रतिनिधिसभा विघटन भएको रहस्यमय घटनाको प्रश्न उठाए।
ओलीले निजी सम्पत्ति, व्यवसायी र सुरक्षाकर्मीलाई निशाना बनाइएर हिंसा भड्काइएकोले घटनाको उद्देश्य स्पष्ट भएको तर्क गरे। राजनीतिक अस्थिरता देश विकासको मुख्य बाधक भएको भन्दै उनले ठूला दलहरूबीच मिलन संकटको कारण नभई अस्थिरता रोक्ने इमानदार प्रयास भएको स्पष्ट पारे।
उनी भन्छन्, “एमालेसँग मात्र विकास, सुशासन र निर्माणको स्पष्ट ट्रयाक रेकर्ड छ। ध्वस्त भएका संरचना पुनर्निर्माण र जनताको मनोबल उकास्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ।”
ओलीले आम मतदाता र समाजको प्रश्नको घेरामा रहेको अवस्थालाई मध्यनजर गर्दै संविधान र व्यवस्थाको रक्षामा एमाले दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे।




