काठमाडौँ,०७ फागुन । पछिल्लो तीन महिनामा ५६६ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयको विवरणअनुसार कातिक १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा कुल ५६६ गैरआवासीय नागरिकता जारी भएको हो।
त्यसै अवधिमा गृह मन्त्रालयले दुई लाख दुई हजार ९५६ वटा सामान्य नागरिकता पनि जारी गरेको छ। यसमा वंशजको आधारमा नागरिकता प्राप्त गर्नेको संख्या एक लाख १९ हजार १२ रहेको छ भने २६ जनाले अंगीकृत नागरिकता लिएका छन्। वैवाहिक आधारमा अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० रहेको विवरणमा उल्लेख छ।
संविधानको धारा १४ अनुसार विदेशी नागरिकता प्राप्त भए पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन बाहेकका देशमा बसोबास गर्ने व्यक्तिले वंशज वा जन्मको आधारमा गैरआवासीय नेपाली नागरिकता पाउन सक्ने व्यवस्था छ। यस नागरिकता प्राप्त व्यक्तिहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्राप्त हुने भए पनि उनीहरूलाई मतदान र सरकारी पदमा उम्मेदवार हुने अधिकार छैन।
गैरआवासीय नेपाली नागरिकता वितरण नेपाल नागरिकता ऐन संशोधन विधेयक २०८० को आधारमा सुरु भएको हो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० असोज ३० मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वयलाई नागरिकता प्रदान गर्दै यो प्रक्रिया प्रारम्भ गरेका थिए।




