काठमाडाैं,०७ फागुन । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार डा. शेखर कोइरालाले विराटनगरलाई डुबानमुक्त बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार विराटनगर–१२ मा आयोजित चुनावी सभामा उनले स्थानीय बासिन्दाले वर्षायाममा भोग्दै आएको समस्यालाई प्राथमिकतामा राख्ने आश्वासन दिएका हुन्।
डा. कोइरालाले केसलिया खोलाका कारण वर्षेनी विराटनगर–१२ का बासिन्दा प्रभावित हुने चर्चा गर्दै भने, “सुदृढ तटबन्धन निर्माण गरेर विराटनगरलाई डुबानमुक्त बनाउने मेरो स्पष्ट योजना छ।” उनले यस क्षेत्रको सडक, पुल–पुलेसा, ढल निकास र अन्य पूर्वाधार विकासमा तीव्रता दिनुपर्नेमा पनि जोड दिए।
उम्मेदवार कोइरालाले जनताको समर्थन पाए नेपाली कांग्रेसले सुरु गरेका विकास निर्माणका कामहरूलाई निरन्तरता दिने विश्वास व्यक्त गरे। उनले भने, “विकासका काम एक्लैले सम्भव हुँदैन। वडा, नगर, प्रदेश र संघीय सरकारबीच सहकार्य र राजनीतिक स्थिरता आवश्यक छ।”
डा. कोइरालाले विगतमा महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन निर्माणका लागि ५ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको र शैक्षिक पूर्वाधार सुधारमा निरन्तर लागिपरेको उल्लेख गरे। उनले भविष्यमा क्याम्पसका प्रयोगशाला, स्रोत–साधन र अन्य पूर्वाधार विस्तार गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता पनि जनाए।
उम्मेदवार कोइरालाले मतदातालाई आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न आग्रह गर्दै राजनीतिक स्थिरता र सक्षम नेतृत्वका लागि मतदानको महत्व पनि स्मरण गराए।




