काठमाडौँ,०७ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने ठोस योजना तयार गरिएको बताएका छन्। उनले संविधानमा उल्लेखित मौलिक हकअनुसार युवाहरूका लागि रोजगारी सृजना गर्ने संकल्पपत्र प्रस्तुत गरिएको बताए।
सभापति थापाले कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रगत विधामा व्यापक योजना बनाई रोजगारको अवसर सिर्जना गर्ने बताए। उनले भने, “५ हजार रोजगारी होइन, व्यापक योजना बनाएर १५ लाख रोजगारी सिर्जना गर्ने उद्देश्य हो। चाहे संसदमा होस् वा सरकारमा, कार्यक्रम तयार छ।”
थापाले युवाहरूको डिजिटल स्वतन्त्रता र सिर्जनात्मकताको सम्मान गर्ने कांग्रेसको योजना रहेको पनि बताए। उनले भने, “युवाहरूले कला, साहित्य र सिर्जना त गरेका छन्, तर त्यसलाई बजारमा विक्री गर्न सहज छैन। हामी यसलाई सम्भव बनाउने योजना बनाएका छौँ।”
साथै उनले दक्ष जनशक्तिको विकासमा जोड दिँदै विदेश पलायन (ब्रेन ड्रेन) रोक्ने र दक्ष जनशक्तिलाई संस्थागत रूपमा नेपालमै काम गर्ने वातावरण निर्माण गर्ने योजना रहेको स्पष्ट पारे। थापाले युवालाई अध्ययन गरेका सीपमा थप गतिशीलता दिनुपर्ने र प्रतिस्पर्धी बजारमा सक्षम बनाउने कुरामा जोड दिएका छन्।




