वीरगन्ज,०७ फागुन । नेशनल प्याबसन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिनका खेलहरू आदर्शनगर खेल मैदानमा रोमाञ्चक रूपमा सम्पन्न भएका छन्। दिनभर भएका दुई खेलमा माउन्ट हर्मन मा.वि. र ज्ञानोदय मा.वि.ले प्रभावशाली जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो मजबुत उपस्थिति देखाएका छन्।
पहिलो खेलमा विद्या सदन मा.वि.विरुद्ध माउन्ट हर्मन मा.वि.ले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै विपक्षी टोलीलाई मात्र २७ रनमा समेट्यो। टस जितेर पहिले बलिङ रोजेको माउन्ट हर्मनका बलरहरूले सुरुदेखि नै कडा दबाब सिर्जना गरेका थिए। जवाफी ब्याटिङमा माउन्ट हर्मनले ४.४ ओभरमै बिना विकेट क्षति २८ रन बनाउँदै १० विकेटको सहज जित हात पार्यो।
यस खेलमा सनोज यादवले अलराउण्ड प्रदर्शन गर्दै ४ ओभरमा ११ रन खर्चेर ५ विकेट लिए भने ब्याटिङतर्फ २० बलमा १५ रन बनाउँदै टोलीको जितमा निर्णायक भूमिका खेले। उनको उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित गरियो।
दोस्रो खेलमा ज्ञानोदय मा.वि.ले विस्फोटक ब्याटिङ गर्दै शान्ति निकेतन मा.वि.लाई फराकिलो अन्तरले पराजित गर्यो। ज्ञानोदयले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा २२९ रनको विशाल योगफल तयार पारेको थियो।
जवाफमा शान्ति निकेतन ७.३ ओभरमै ३३ रनमा अलआउट भएपछि ज्ञानोदयले १९६ रनको शानदार जित हासिल गर्यो।
ज्ञानोदयका सर्जिल अली अन्सारी खेलका नायक बने। उनले ब्याटिङतर्फ ६० बलमा शानदार १०० रनको शतक प्रहार गरे भने बलिङमा २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। उनको विस्फोटक प्रदर्शन चौथो दिनको मुख्य आकर्षण बनेको थियो। प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएका छन् भने आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।




