काठमाडौँ,०७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा आफ्नो सरकार बनेको १०० दिनभित्र सहकारी संस्थाका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको पार्टीको वाचापत्रअनुसार, आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिनेछ। यस कोषमार्फत संकटग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूलाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिने व्यवस्था मिलाइने छ।
रास्वपाले वाचापत्रमा भनेको छ, “हाम्रो उद्देश्य केवल सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बचतकर्ताको पैसा फिर्ता गराउनु हो। कानुनी बाटो र मिलापत्रमार्फत बचत फिर्ता हुने सुनिश्चितता हुनेछ।”
पार्टीले यस्तो प्रणालीमार्फत बचतकर्तालाई थुना बाहिरै रहेको अवस्थामा पनि आफ्नो रकम सुरक्षित गर्न सक्ने वातावरण बनाइने र सहकारी संस्थाका सञ्चालकले समयमै रकम फिर्ता गर्न नीतिगत दायित्व पालना गर्नुपर्ने व्यवस्था बनाइने जनाएको छ।




