वीरगंज, ७ फागुन – हिजो मात्र नेपाली कांग्रेस प्रवेश गरेका नेता बसरुद्दिन अंसारीले आफू नेपाली कांग्रेस प्रवेश नगरेको बताएका छन्। उनले आफू विगतमा कांग्रेसमै रहेको खुलासा गर्दै पूर्णरूपमा घर फर्केको दाबी गरेका छन्।
यसअघि उनी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए। तर पराजित भएका थिए। विगतमा माधव कुमार नेपाल,प्रचण्ड, त्यसैगरी केपी शर्मा ओली र राजासँग समेत नजिक रहँदै सत्ताको मौज लुटेका नेता अंसारी नेपाली कांग्रेस मेयरको टिकट पाउने आशामा प्रवेश गरेको राजनीतिक वृत्तमा चर्चा छ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार एवं उद्योगपति अनिल रुगंटाले अंसारीलाई मेयरको टिकट दिलाउने वाचा–कसम खाएपछि अंसारी कांग्रेस प्रवेश गरेको हल्ला छ। यसअघि जो प्रधानमन्त्री अथवा सत्ताको कार्यकारी पदमा पुगे, उनीहरू सबैसँग अंसारी नजिक बस्दै आएका थिए।
ओली प्रधानमन्त्री हुँदा उनी मेडिकल एसोसिएसनका अध्यक्ष समेत भएका थिए। आफ्नो मेडिकल व्यवसाय चम्काउन उनी जोसँग पनि हात मिलाउन खप्पिस रहेको उनको पछिल्लो चरित्रले देखाएको छ।
नेशनल मेडिकल कलेजका एमडी भएका काम गर्दा उनले कलेजको राजासँग उद्घाटन गराउने उद्घोष गरेका थिए। तर पछि प्रचण्ड सत्तामा पुगेपछि उनले प्रचण्डसँग कलेजको उद्घाटन गराउने भनेका थिए। प्रचण्डसँग पनि उनको व्यवसायिक उद्देश्य पूरा नभएपछि कलेज सञ्चालनमा आएको ५ वर्षपछि माधव कुमार नेपालसँग कलेजको उद्घाटन गराएका थिए।
उनी विगत लामो समय नेपाली कांग्रेसमा नरहेको इतिहास भए पनि एकाएक घर फर्केको बताएपछि कांग्रेस नेताहरू नै आश्चर्यचकित भएका छन्।
उनले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न खोजेका थिए। तर पार्टीले उनलाई तपाईंसँग खासै जनाधार नभएको बताउँदै टिकट दिन अस्वीकार गरेका थिए। टिकट नपाएपछि अंसारीले आफू निकट व्यक्तिलाई टिकट दिन पार्टीलाई दबाब दिएका थिए। तर त्यो पनि सम्भव नभएपछि उनी नेपाली कांग्रेस रोजेको उनी निकट स्रोतले जानकारी दिएको छ।
कांग्रेसले मेयर टिकट दिन अंसारीलाई वाचा गरेको हल्ला भए पनि कांग्रेसभित्र नै विवाद चर्किएको छ। भने आम कांग्रेसी नेता–कार्यकर्ताको भविष्य माथि ग्रहण लाग्न सक्ने संकेत देखा परेको छ।
अद्यापि कांग्रेसले भने उनको पार्टी प्रवेशमा भएको सौदावाजीको विषयमा कुनै किसिमको आधिकारिक प्रतिक्रिया दिएको छैन।




