spot_img

टिकटकमार्फत मतदाता शिक्षा: उत्कृष्ट भिडियो बनाउनुस्, ५० हजारसम्म पुरस्कार जित्नुस्

spot_img
spot_img

काठमाडौं,०८ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोग ले मतदाता शिक्षा र निर्वाचन सचेतना फैलाउन टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। आयोगले युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत निर्वाचनसम्बन्धी सन्देश फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले एक मिनेटसम्मको सन्देशमूलक टिकटक भिडियो बनाउन आह्वान गरेको छ। सहभागीले निर्वाचनको महत्त्व, मतदाताको अधिकार र कर्तव्य, मतदान गर्ने सही तरिका, निर्वाचन आचारसंहिताको पालना तथा सचेत मतदाता बन्ने विषय समेटेर भिडियो तयार पार्नुपर्नेछ।

आयोगका अनुसार भिडियो मौलिक, संवादमूलक र सन्देशमूलक हुनुपर्नेछ, जसमा सहभागीको आफ्नै आवाज र अभिनयलाई प्राथमिकता दिइनेछ। तयार पारिएको भिडियो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ भने फागुन १७ गतेभित्र आयोगको इमेलमा पनि पठाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्राप्त भिडियोहरूमध्ये सबैभन्दा बढी भ्यूज पाउने भिडियोले पहिलो पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।

एक व्यक्तिले एक विषयमा एक भिडियो मात्र पठाउन पाउनेछ भने समूहमा मिलेर पनि भिडियो निर्माण गर्न सकिने आयोगले जनाएको छ। प्राप्त भिडियोहरूको बौद्धिक अधिकार आयोगमा रहनेछ र उत्कृष्ट सन्देश भएका भिडियो आयोगले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्न सक्नेछ।

आयोगले यो अभियानमार्फत युवाहरूको सक्रिय सहभागिता बढाउँदै निर्वाचनलाई सभ्य, निष्पक्ष र जनचेतनामूलक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय