सर्लाही,०८ फागुन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. जेपी यादवमाथि चुनावी भेटघाटका क्रममा दुर्व्यवहार भएको घटनाले राजनीतिक वृत्तमा ध्यानाकर्षण गराएको छ। जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले घटनाप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ।
जिल्ला सदरमुकाम मलंगवामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. यादवले बागमती क्षेत्रमा मतदातासँग भेटघाट गरिरहेका बेला एक व्यक्तिले आफूलाई अपमानजनक र जातीय रूपमा होच्याउने शब्द प्रयोग गरेको बताए। उनले लोकतान्त्रिक अभ्यासअनुसार मतदातासँग संवाद गरिरहेको अवस्थामा यस्तो व्यवहार हुनु दुःखद भएको उल्लेख गर्दै मधेशी समुदायमाथि हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य भएको बताए।
पत्रकार सम्मेलनमा जसपाका जिल्ला अध्यक्ष रन्धिर यादवले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरे। उनले कारबाहीमा ढिलाइ भए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिए। साथै, निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, पार्टीका नेता रामप्रसाद यादवले पनि स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न हुनु लोकतन्त्रका लागि आवश्यक भएको बताए। उनले स्वस्थ राजनीतिक प्रतिस्पर्धा कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।
यता, जिल्ला प्रहरी कार्यालय सर्लाही ले घटनामा संलग्न रहेको आरोपमा स्थानीय प्रसान्त वाइवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।




