spot_img

ड्राइपोर्ट बहुवरीमा अशोक टेमानीको घरदैलो, खानेपानी–स्वास्थ्य समस्या समाधान गर्ने प्रतिबद्धता

spot_img
spot_img

वीरगंज, ८ फागुन – पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई तीव्र बनाउँदै वीरगंज महानगरपालिका वडा नं. २४ अन्तर्गत ड्राइपोर्ट बहुवरी टोलका मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवारी दिएका टेमानीले स्थानीय बासिन्दाका समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिएका हुन्।

ग्रामीण भेगमा पर्ने उक्त टोलमा पुगेका टेमानीलाई स्थानीयले स्वागत गर्दै आफ्ना दैनिकीका कठिनाइहरू खुला रूपमा राखेका थिए। विशेषगरी खानेपानीको अभाव, शिक्षा क्षेत्रको कमजोर अवस्था, स्वास्थ्य सेवाको पहुँचमा कमी तथा कृषि क्षेत्रमा देखिएका समस्याहरू प्रमुख रूपमा उठाइएका थिए।

स्थानीयका अनुसार नियमित शुद्ध खानेपानीको व्यवस्था नहुँदा महिलाहरू र बालबालिकाले टाढाबाट पानी बोक्नुपर्ने बाध्यता छ। कतिपय स्थानमा हातेधारा बिग्रिएको तथा पाइपलाइन जडान भए पनि पानी नआउने समस्या रहेको गुनासो गरिएको थियो।

त्यस्तै, सरकारी विद्यालयमा शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी र गुणस्तरीय शिक्षाको अभावले विद्यार्थी प्रभावित बनेको स्थानीय अभिभावकहरूको भनाइ छ। स्वास्थ्य सेवामा पनि सुविधा सम्पन्न संस्था नहुँदा सामान्य उपचारका लागि वीरगंज बजार धाउनुपर्ने अवस्था रहेको जनाइएको छ।

कृषि क्षेत्रमा सिंचाइ सुविधा अभाव, मल–बिउको समस्या र बजार व्यवस्थापनको कमजोरीका कारण किसान मारमा परेको गुनासो गरिएको थियो। उत्पादनले उचित मूल्य नपाउँदा कृषक निराश बनेको स्थानीयले बताएका छन्।

स्थानीयका गुनासा सुनेपछि उम्मेदवार टेमानीले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वास पाएर संसद पुगेपछि यहाँका समस्यालाई योजनाबद्ध रूपमा समाधान गर्न पहल गर्नेछु,” उनले भने।

उनले ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेर विकास योजना बनाउनुपर्ने आवश्यकता औंल्याउँदै युवाहरूका लागि रोजगारी सिर्जना, किसानमैत्री नीति र सामाजिक न्याय सुदृढ गर्ने एजेन्डा अघि सारे।

घरदैलो कार्यक्रममा स्थानीय मतदाताले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाउँदा सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरूले विगतमा आश्वासन धेरै पाए पनि कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै यसपटक परिणाममुखी कामको अपेक्षा व्यक्त गरे।

ड्राइपोर्ट बहुवरीमा सम्पन्न यो भेटघाट कार्यक्रमसँगै पर्सा–२ मा चुनावी माहोल थप तातिएको देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय