विराटनगर,०८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन सबै सरोकारवालाले निर्वाचन आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिइएको छ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रेस काउन्सिल नेपालको सहयोगमा आयोजना गरेको दुईदिने ‘पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण’ तालिमको उद्घाटन सत्रमा वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन लोकतन्त्र र संविधानको रक्षाका दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको स्वच्छतामा सबै पक्ष सजग हुनुपर्ने बताए। उनले भ्रम फैलाउने र समाजलाई विभाजित गर्ने प्रवृत्तिविरुद्ध जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याए।
वक्ताहरूले भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले सञ्चारमाध्यम र सञ्चारकर्मीले सन्तुलित, सत्य र प्रमाणित सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।
महासङ्घका अध्यक्ष भरत खड्काका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता तथा पत्रकारले पालन गर्नुपर्ने नैतिक आचरणबारे विस्तृत छलफल गरिनेछ।




