काठमाडौं,०८ फागुन । बालेन शाहविरुद्ध गृह मन्त्रालयमा नागरिकतासम्बन्धी उजुरी दर्ता भएको छ।
उजुरीकर्ता युवराज पौडेल सफलले शाहले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप लगाएका छन्। निवेदनमा नागरिकता ऐन, २०६३ विपरीत कार्य भएको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
निवेदनअनुसार २०६३ साल पुस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा शाहको थर ‘साह’ उल्लेख भएको तर २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिँदा थर फरक गरी उल्लेख गरिएको दाबी गरिएको छ।
उजुरीमा नागरिकता ऐन, २०६३ को दफा १२ अनुसार झूटो विवरण दिई नागरिकता लिएको प्रमाणित भएमा उक्त नागरिकता रद्द गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख छ। साथै, सम्बन्धित कागजातको छानबिन गरी कानुनबमोजिम नागरिकता खारेज गर्नुका साथै पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ।
गृह मन्त्रालयले उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।




