कलैया,०९ फागुन । नेपाल विद्युत् प्राधिकरण, कलैया वितरण केन्द्रका एक कर्मचारीमाथि विद्युत् चोरी (हुकिङ) नियन्त्रणको नाममा सर्वसाधारणसँग अवैध रकम असुली गरेको गम्भीर आरोप लागेको छ। सिनियर मिटर रिडर शत्रुघ्न प्रसाद यादव माथि स्थानीयले उपभोक्तामाथि डरधम्की देखाएर रकम असुल्ने गरेको गुनासो गरेका छन्।
स्थानीयवासीका अनुसार यादवले आफ्नो कार्यक्षेत्रभित्रका गाउँहरूमा मिटर रिडिङ गर्ने क्रममा विद्युत् हुकिङ गरेको आरोप लगाएर घरायसी प्रयोजनका मोटर जफत गर्ने र पछि ठूलो रकम लिएर मात्र फिर्ता गर्ने गरेको बताइएको छ। उनले आफूमाथि कार्यालय प्रमुखको निकटताको दाबी गर्दै उपभोक्तामाथि दबाब सिर्जना गरी ‘मिलापत्र’का नाममा पैसाको अवैध असुली गरेको आरोप लागेको छ।
विशेष गरी विपन्न र पहुँच नभएका उपभोक्ताहरूलाई लक्षित गर्दै विद्युत् चोरीको मुद्दा लगाइदिने धम्की दिने, जफत गरिएका मोटरहरू आफ्नै नियन्त्रणमा राखेर पैसाको बार्गेनिङ गर्ने गरेको भन्ने तथ्यले स्थानीय स्तरमा आक्रोश बढाएको छ। “विद्युत् चोरी नियन्त्रण गर्ने बहानामा कर्मचारीले नै व्यक्तिगत स्वार्थका लागि धम्की दिनु विडम्बना हो,” एक पीडित स्थानीयले भने। “कानुनी प्रक्रिया भन्दा बढी गोजी भर्ने काम भइरहेको छ।”
यो विषयमा सार्वजनिक दबाब बढेपछि कलैया वितरण केन्द्रका प्रमुख हिमान्सु प्रसाद यादव ले चासो देखाएका छन्। उनले आरोपित कर्मचारीलाई तत्काल उपभोक्तासँग लिएको रकम फिर्ता गर्न र जफत गरिएका मोटरहरू कार्यालयमा बुझाउन निर्देशन दिएको जानकारी दिएका छन्।
“गुनासो प्राप्त भएको छ, हामी यसको आन्तरिक छानबिन गर्दैछौँ,” प्रमुख यादवले भने। “यदि कर्मचारी दोषी पाइएमा नियमानुसार कडा कारबाही गरिनेछ। विद्युत् चोरी नियन्त्रणको काम पारदर्शी र कानुनी हुनुपर्छ।” स्थानीयवासीहरूले सरकारी निकायप्रतिको जनविश्वास घट्दै गएको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।




