वीरगन्ज,०९ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभाका उम्मेदवार सुशील कुमार कानु ले पर्सागढी नगरपालिका, झबराहा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमको क्रममा कानुले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले स्थानीय अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा कृषकहरूको मल र सिँचाइ पानीको समस्यालाई प्राथमिकताका विषयको रूपमा लिने प्रतिबद्धता जनाए।
“कृषि नै यहाँको मुख्य आधार हो। किसानले समयमै मल र सिँचाइ नपाएसम्म समृद्धिको कल्पना गर्न सकिँदैन,” कानुले भने। उनले युवालाई लक्षित गर्दै स्थानीय स्तरमै पशुपालन सम्बन्धी तालिम, स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्ने योजना पनि सार्वजनिक गरे।
उम्मेदवार कानुले प्रभावकारी अस्पताल व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर सुधारमा रास्वपाको प्रमुख एजेन्डा रहेको बताए। “जनताको आधारभूत आवश्यकता पूरा नगरी विकासको कुरा गर्नु अर्थहीन हुन्छ,” उनले भने।
घरदैलोमा झबराहा र बढनिहार क्षेत्रका ज्येष्ठ नागरिक, बुद्धिजीवी, युवा, महिला तथा कृषक समुदायको ठूलो सहभागिता रहेको थियो। स्थानीयहरूले “अबको नेतृत्व परिवर्तनको हो” र “मतदान सन्तानको भविष्यका लागि” जस्ता नारा लगाउँदै उम्मेदवार कानुलाई खुला समर्थन जनाए। कार्यक्रमले झबराहा क्षेत्रमा रास्वपाप्रति बढ्दो आकर्षण र आगामी निर्वाचनमा सकारात्मक परिवर्तनको अपेक्षा स्पष्ट पार्न सफल भएको छ।




