वीरगंज, १० फागुन – पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै जाँदा नेकपा एमालेका उम्मेदवार प्रदीप यादव प्रति मतदाताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। सुरुदेखि नै चुनावी अभियानलाई तीव्रता दिँदै घरदैलो, भेटघाट तथा विकासमुखी एजेण्डासहित मैदानमा उत्रिएका यादवले छोटो समयमै जनताको विश्वास जित्न सफल भएका छन्।
विगतमा निर्वाचित भएर गरेका काम, विकास निर्माणमा देखाएको सक्रियता तथा संकटको समयमा निर्वाह गरेको भूमिकाका कारण उनी पुनः मतदाताको पहिलो रोजाइमा पर्न थालेका छन्। सुरुआतमा केही युवाको झुकाव राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ देखिए पनि पछिल्लो समय युवावर्गसमेत प्रदीप यादवको स्पष्ट विकास दृष्टिकोण, नेतृत्व क्षमता र अनुभवबाट प्रभावित हुँदै गएको स्थानीयहरुको भनाइ छ।

उनले उम्मेदवारी घोषणा गरेदेखि नै विभिन्न राजनीतिक दल—जसपा, लोसपा, नेपाली कांग्रेस लगायत अन्य दलका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम बढेको छ। यसले पर्सा–१ मा एमालेको पकड थप मजबुत बन्दै गएको एमाले पक्षको दाबी छ।
नेपाल पोस्ट टिमले मतदातासँग लिएको प्रतिक्रिया तथा मोडल सर्वेक्षणको आधारमा यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको छ। मुख्य प्रतिस्पर्धा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने अनुमान गरिएको छ। अन्य दलहरूले पनि केही मत ल्याउने भए पनि निर्णायक प्रतिस्पर्धा यी तीन दलबीच केन्द्रित रहने आकलन छ।
प्रदीप यादवले पछिल्ला दुई निर्वाचनमा जित हासिल गरिसकेका छन्। पार्टी परिवर्तन भए पनि उनको व्यक्तिगत छवि, विकासप्रतिको प्रतिबद्धता र जनतासँगको निरन्तर सम्बन्धका कारण उनको समर्थन आधार बलियो रहेको देखिन्छ। कोरोना महामारी, भूकम्प र पर्सामा खानेपानी संकटको समयमा उनले खेलेको सक्रिय भूमिकाले समेत मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको छ।

नेपाली कांग्रेस क्षेत्रीय रूपमा बलियो देखिए पनि उद्योगपति उम्मेदवार अघि सारिएको विषयलाई लिएर केही मतदाता तथा पार्टीभित्रकै एक तप्कामा असन्तुष्टि देखिएको बताइन्छ। तथापि, कांग्रेसका परम्परागत मतदाता र कार्यकर्ताहरूको साथका कारण उनीहरू पनि प्रतिस्पर्धामा रहने देखिन्छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरी पंत ले पनि पछिल्लो समय भित्री रूपमा संगठन विस्तार गर्दै समर्थन बढाइरहेका छन्। युवा तथा ‘जेन–जी’ अभियानका समर्थकहरूको मत आकर्षित गर्दै उनी पनि प्रतिस्पर्धामा मजबुत उपस्थितिका साथ उत्रिने संकेत देखिएको छ।
यद्यपि, समग्र राजनीतिक समीकरण हेर्दा प्रदीप यादवको सक्रिय अभियान, विकासमुखी सोच, अनुभवी नेतृत्व र जनतासँगको निकट सम्बन्धका कारण उनी अग्रस्थानमा देखिएको स्थानीय विश्लेषण छ। एमाले समर्थकहरू चुनावी कार्यक्रमहरूमा “जितने दिनवा बितता सूर्य छाप जित ता…. ” र “ क्यु पडे हो चक्कर मे कोइ नही है टक्कर मे ” जस्ता नारासहित उत्साहका साथ मैदानमा उत्रिएका छन्।
पर्सा–१ मा यसपटकको निर्वाचन रोचक, प्रतिस्पर्धात्मक र निर्णायक हुने स्पष्ट संकेत देखिएको छ।




