spot_img

पर्सा–१ मा ओमप्रकाश सरार्फको घरदैलो अभियान, खानेपानी र पूर्वाधार सुधारमा जोड

spot_img
spot_img

बीरगन्ज,१० फागुन । जनमत पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले बीरगन्ज महानगरपालिका–२ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा सरार्फले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे जानकारी लिए। उनले वडा नम्बर–२ मा देखिएको शुद्ध खानेपानीको अभावलाई प्रमुख समस्या भएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि स्थायी पाइपलाइन विस्तार, पानी ट्यांकी निर्माण तथा आधुनिक प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, सडक र ढल व्यवस्थापन सुधारलाई पनि प्राथमिकतामा राखिने उनले बताए। वर्षायाममा हिलाम्मे सडक र अव्यवस्थित ढल निकासका कारण स्थानीयले भोग्दै आएको सास्ती अन्त्य गर्न गुणस्तरीय सडक निर्माण, ढल निकास सुधार तथा नियमित सरसफाइ कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो। विकास आयोजनामा स्थानीय तह र संघीय सरकारबीच प्रभावकारी समन्वय गरिने उनले स्पष्ट पारे।

भेटघाटमा भूमिसम्बन्धी समस्या, सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका विषय उठेका थिए। सरार्फले पारदर्शी प्रशासनिक प्रक्रिया अपनाउँदै यस्ता विवाद समाधान गर्ने र सार्वजनिक सम्पत्तिको संरक्षणमा कडाइ गर्ने बताए।

युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धन आफ्नो प्रमुख एजेन्डा भएको उनले दोहोर्‍याए। स्थानीय स्तरमै उद्योग, साना व्यवसाय र स्वरोजगारका कार्यक्रमलाई प्रोत्साहन गरिने उनको प्रतिबद्धता थियो। साथै, स्वास्थ्य चौकी स्तरोन्नति, औषधि आपूर्ति व्यवस्थापन र गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा पनि पहल गरिने उनले उल्लेख गरे।

घरदैलो कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता रहेको बताइएको छ। सरार्फले आफ्नो अभियान केवल चुनाव केन्द्रित नभई दीर्घकालीन विकास, सुशासन र जवाफदेहितामा आधारित रहेको धारणा राखे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय