चितवन,१० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधि अयोग्य वा खराब सावित भए फिर्ता बोलाइने बताएका छन्।
चुनावी अभियानका क्रममा चितवनमा आयोजित एक कोणसभालाई सम्बोधन गर्दै उनले मतदातासामु यस्तो प्रतिबद्धता जनाएका हुन्। ‘यदि राम्रोसँग छान्न नसकेर वा रोज्न नभ्याएर रास्वपाबाट जितेर गएका व्यक्ति खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउनेछौँ,’ उनले भने, ‘हाम्रो त ७२ घण्टाभित्र फिर्ता गराएको नजिर नै छ।’
लामिछानेले पार्टीले कुनै व्यापारी वा बिचौलियाको भार बोक्नुपर्ने अवस्था नरहेको दाबी पनि गरे। ‘कुनै व्यापारी र बिचौलियालाई हामीले पोस्न पर्दैन, बोक्न पर्दैन,’ उनले भने।
उनले स्वच्छ राजनीति र जवाफदेहितालाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गरिएको दाबी गर्दै मतदातासँग विश्वासको आधारमा समर्थन मागेका छन्।




