रौतहट,११ फागुन । नागरिकता प्राप्त गर्न लामो समयदेखि धाउँदा पनि नपाएको भन्दै चन्द्रपुर नगरपालिका–१ की एक सेवाग्राही आइतबार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको मुख्य प्रवेशद्वारमै धर्नामा बसेकी छन्। उनीसँगै वडा अध्यक्ष र स्थानीयवासीले पनि प्रशासनको ढिलासुस्तीप्रति विरोध जनाएका छन्।
चन्द्रपुर–१ की निमालाम्हु भुटियाले एक महिनाअघि नागरिकताका लागि निवेदन दिएको भए पनि कार्यालय प्रमुख माधवप्रसाद शर्माले विभिन्न बहाना बनाएर नागरिकता दिन ढिलाइ गरेको आरोप लगाइन्। उनका अनुसार सबै आवश्यक कागजात र प्रक्रिया पूरा गर्दा पनि नागरिकता नपाउँदा आफू समस्यामा परेको बताइन्।
यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटले गत माघ २० गते नै इलाका प्रशासनलाई पत्राचार गर्दै नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। तर इलाका प्रशासन प्रमुखले नागरिकता दिन नमिल्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाटै बनाउन सुझाव दिएको निमालाम्हुको भनाइ छ।
वडाध्यक्ष बलराम राउतले वडा कार्यालयबाट सिफारिससहित सबै प्रक्रिया पूरा भइसके पनि नागरिकता नदिनु प्रशासनको लापरवाही भएको आरोप लगाए। विरोधस्वरूप करिब आधा घण्टा धर्ना बसेपछि उनीहरूले कार्यालय प्रमुखलाई भेटेर सोमबार दिउँसो १२ बजेसम्म नागरिकता उपलब्ध गराउन अल्टिमेटम दिएका छन्।
निमालाम्हुका पिता पेम्बा छिरिङ भुटिया २०५९ सालदेखि बेपत्ता छन्। यस सम्बन्धमा जिल्ला अदालतले बेपत्ता भएको न्यायिक घोषणा गरिसकेको छ भने वडा कार्यालयमा जन्मदर्ता र पारिवारिक सम्बन्ध पुष्टि हुने कागजातसमेत उपलब्ध छन्। यस आधारमा आमाको नामबाट वंशजका आधारमा नागरिकता पाउनुपर्ने उनको माग छ।
यता इलाका प्रशासन प्रमुख शर्माले भने प्रमुख जिल्ला अधिकारीसँग परामर्श गरेर मात्र नागरिकता दिनेबारे निर्णय गरिने बताएका छन्।
यसअघि पनि सोही कार्यालयबाट नागरिकता वितरणमा ढिलाइ भएको भन्दै आलोचना भएको थियो। स्थानीयवासीले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन र कानुनी प्रक्रिया अनुसार नागरिकता उपलब्ध गराउन प्रशासनसँग माग गरेका छन्।




