spot_img

बनेको बाटो होइन, नयाँ बाटो खोल्ने मान्छे हुँ : अध्यक्ष ओली

spot_img
spot_img

झापा,११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक यात्रालाई संघर्ष, दृढता र नयाँ बाटो खोज्ने साहससँग जोड्दै आफू अरूले बनाएको बाटोमा हिँड्नेभन्दा नयाँ ट्र्याक खोल्ने नेतृत्व भएको बताएका छन्।

आफ्नी पत्नी राधिका शाक्यद्वारा लिखित मेरा अनुभूतिहरू पुस्तकको नवौँ संस्करण विमोचन तथा वैवाहिक वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक इमानदारिता र अडान नै सफलताको मुख्य आधार भएको धारणा राखे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई सानो सुरुवातबाट देशको प्रमुख शक्तिमा पुर्‍याउन आफूले ठूलो योगदान दिएको उल्लेख गर्दै ओलीले स्वार्थका कारण पार्टी फुटाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनले त्यस्ता गतिविधिले देश र आन्दोलन दुवै कमजोर बनाएको बताए।

आफ्नो राजनीतिक जीवनको चर्चा गर्दै उनले किशोर अवस्थादेखि नै निरंकुश व्यवस्थाविरुद्ध संघर्ष गरेको, लामो जेल जीवन बिताएको र भूमिगत अवस्थामा अनेक चुनौती सामना गरेको स्मरण गरे। कठिन परिस्थितिमा पनि नयाँ सम्भावनाको खोजी गर्दै अघि बढ्ने आफ्नो स्वभावका कारण नै ठूला परिवर्तन सम्भव भएको उनको भनाइ थियो।

उनले आफूलाई “जोइटिंग्रे” भन्न रुचाउने बताउँदै यसलाई लैङ्गिक समानता र सामाजिक न्यायको सकारात्मक सन्देशका रूपमा व्याख्या गरे। आफ्नो जीवनमा आर्थिक पारदर्शिता र त्यागलाई प्राथमिकता दिएको समेत उनले खुलासा गरे।

ओलीले युवाहरूलाई समयको महत्व बुझ्न, देशप्रति जिम्मेवार बन्न र आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन आग्रह गरे। नेपालको घट्दो जनसंख्या र भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले देशको स्थायित्व र विकासका लागि युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।
उनले एमाले पार्टीलाई पुनः देशको निर्णायक शक्तिका रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै राजनीतिक नेतृत्वले राष्ट्र निर्माणमा समय र ऊर्जा समर्पित गर्नुपर्नेमा जोड दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय