काठमाडौं, ११ फागुन । ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा ल्याउन आगामी निर्वाचन अत्यन्त महत्वपूर्ण भएको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार हाँडीगाउँमा घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै देश बनाउने एकमात्र सही पार्टी नेकपा एमाले भएको दाबी गरे।
पोखरेलले मतदाता, पार्टी कमिटी र क्षेत्रको आवश्यकताका आधारमा उम्मेदवारी दिएको बताए। उनले जनताका समस्या समाधान गर्ने र अघि प्रस्तुत गरेका योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले आफ्ना कामबारे मतदाताले जानकारी राखेकाले आफूलाई मत दिएर विजयी बनाउने विश्वास व्यक्त गरे। काठमाडौं–५ मा उनले कांग्रेसबाट प्रदीप पौडेल, नेकपा बाट कल्पना शर्मा, राप्रपा बाट कमल थापा र रास्वपा बाट सस्मित पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन्।




