भैरहवा, ११ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
रूपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा यादवले वर्तमान संविधान मधेसी, जनजाति, दलित र उत्पीडित समुदायका मुद्दा पूर्ण रूपमा सम्बोधन नगरेको टिप्पणी गरे। उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेश सीमांकन गर्नुपर्ने पनि बताए।
अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै वर्तमान प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाए।
सो अवसरमा उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक र प्राविधिक पहल तीव्र बनाउने आग्रह पनि गरे। यादवले जनता समाजवादी पार्टी मधेशको वास्तविक समस्याबारे निरन्तर आवाज उठाउँदै आएको र सबै मुद्दा बुझ्ने पार्टी भएको दाबी गरे।




