spot_img

निर्वाचन आउन ९ दिन बाँकी रहँदा आचारसंहिता पालना गर्न पुनः आग्रह

spot_img
spot_img

काठमाडाै,१२ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोग नेपालले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः स्मरण गराएको छ। आचारसंहिता उल्लङ्घनका घटना बढ्दै जानुका साथै आयोगमा उल्लेख्य संख्यामा उजुरी परेपछि आयोगले औपचारिक रूपमा सचेत गराएको हो।

प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुने तय भएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले सरकारदेखि निजी क्षेत्रसम्म सबैलाई आचारसंहिताको दायरामा रहेको स्पष्ट पारेको छ।

आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार, मन्त्रीहरू, सरकारी निकायका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लागू हुन्छ। त्यस्तै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, सुरक्षा निकायका अधिकारी तथा कर्मचारी पनि यसै दायरामा पर्दछन्।

यसका साथै सञ्चारगृह, सञ्चारकर्मी, शैक्षिक संस्था, शिक्षक तथा कर्मचारी, राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने आयोगले जनाएको छ।

निजी क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक प्रतिष्ठान, सेवा प्रदायक संस्था तथा गैरसरकारी संस्थाहरूका पदाधिकारी र कर्मचारी पनि आचारसंहिताको दायरामा छन्। त्यस्तै विकास साझेदार संस्था, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने निकाय तथा पर्यवेक्षकलाई पनि आयोगले आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।

आयोगले विशेषगरी स्थानीय तहका पदाधिकारीहरू आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको पाइएपछि थप सतर्कता अपनाउन आग्रह गरेको छ। निष्पक्ष, मर्यादित र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय