वीरगञ्ज, १२ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२४ रमगढवा र वडा नं. २५ सिर्सिया टोलमा घरदैलो अभियान सञ्चालन गर्दै भ्रष्टाचार र कुशासन अन्त्यका लागि घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
घरदैलोका क्रममा उनले चार दशकदेखि चल्दै आएको राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना, जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित रास्वपाका उम्मेदवारलाई विजयी गराउन अपिल गरे। “पर्सा देशकै महत्त्वपूर्ण जिल्ला भए पनि निर्वाचित प्रतिनिधिहरूको बेवास्ताका कारण अपेक्षित विकास हुन सकेन,” उनले भने, “शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधारको अवस्था अझै जीर्ण छ।”
कानुले आफू निर्वाचित भए पर्साको समग्र विकासका लागि ठूला तथा दीर्घकालीन योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाए। कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्दै आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याइने उनले बताए। किसानलाई समयमै मल उपलब्ध गराउने सुनिश्चित व्यवस्था गर्ने र युवालाई सीपमूलक तालिममार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गरिने उनको योजना छ।
“युवाले आफ्नै गाउँ–ठाउँमा अवसर पाए वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनले उल्लेख गरे। स्थानीय तहदेखि संघीय तहसम्म समन्वय गरी योजनाबद्ध विकास अघि बढाइने उनको दाबी छ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीको समस्याबारे गुनासो गरेका थिए। जवाफमा कानुले जनताको आवाज संसद्मा सशक्त रूपमा उठाउने र विकासमा ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा सहभागी युवाहरूले परिवर्तनको आवश्यकता औंल्याउँदै रास्वाप्रति आकर्षण बढ्दै गएको बताएका छन् भने ज्येष्ठ नागरिक र महिलाहरूले पनि यसपटक सुशासन र जवाफदेहितालाई आधार मानेर मतदान गर्ने प्रतिक्रिया दिएका छन्।




