spot_img

निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

spot_img
spot_img

जनकपुर,१२ फागुन ।  सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सुनुवाइ मंगलबार विशेष अदालतमा सुरु भएको छ।

सुनुवाइ विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइरालाविदुर कोइराला को इजलासमा भइरहेको छ।

अख्तियारले मेयर थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजयकुमार लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। आयोगले आरोप लगाएको छ कि सागरनाथ वन विकास परियोजना अन्तर्गत वडा नं. ४ र १२ मा पर्ने वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गरी माछापोखरी निर्माण गर्ने नाममा सरकारी बजेट हिनामिना गरिएको छ।

अख्तियारले मेयर थापासहित प्रतिवादीहरूले साबिक वन ऐन, २०४९ र प्रचलित वन ऐन, २०७६ अनुसार गैरकानुनी संरचना निर्माण गरी करोडौँ रकम हिनामिना गरेको आरोप लगाएको छ। आयोगले प्रत्येक प्रतिवादीविरुद्ध ५६ करोड ७१ लाख रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरेको छ।

मधेस प्रदेश सरकारबाट पटक–पटक माछाविहीन पोखरीका लागि अनुदान लिइएको र निर्माण पूरा नभएको अवस्थामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले एमओयूमा हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको आरोपसमेत थापाविरुद्ध लगाइएको छ।

विशेष अदालतमा जारी सुनुवाइले थापा र अन्य प्रतिवादीहरूको दोष–निर्णयमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय