काठमाडौं,१२ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार तीन दिन सार्वजनिक बिदा दिने औपचारिक निर्णय गरेको हो। यस अन्तर्गत, निर्वाचनअघि, मतदानको दिन र त्यसपछिको दिन सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्।
फागुन २१ गते देशभर एकैचरणमा प्रतिनिधिसभा निर्वाचन हुने भएकाले मतदान प्रक्रिया व्यवस्थित, सुरक्षित र मतदाताको सहज सहभागिता सुनिश्चित गर्न सरकारले यस्तो कदम चालेको हो। निर्वाचन आयोगका अनुसार, अधिकांश मतदान केन्द्र विद्यालयमै रहने र कर्मचारीहरू कार्यक्षेत्रमा खटिनुपर्ने भएकाले तीन दिनको बिदा आवश्यक देखिएको थियो।
सरकारको यो निर्णयले उपत्यका बाहिर गएर मतदान गर्नुपर्ने मतदाताहरूलाई समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ।




