वीरगञ्ज, १२ फागुन – गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि असन्तुष्ट हुँदै जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरी चुनाव लडेका वीरगञ्ज महानगरपालिका वडा नं. १ का वडाध्यक्ष मनोज कुर्मी पुनः नेपाली कांग्रेसमा फर्किएका छन्।
वीरगञ्ज–१ स्थित छपकैया क्षेत्रमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कुर्मी सहित उनका ठूलो संख्यामा समर्थकहरूले कांग्रेस प्रवेश गरेका हुन्। कुर्मी लगायत नवप्रवेशीहरूलाई नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार अजय कुमार चौरसिया सहितका नेताहरूले फूलमाला तथा टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।
विदेश भ्रमणबाट केही दिनअघि मात्रै स्वदेश फर्किएका कुर्मीलाई कांग्रेसले औपचारिक रूपमा पार्टीमा प्रवेश गराएको हो। प्रवेश कार्यक्रममा बोल्दै नेता कुर्मीले आफू सधैं नेपाली कांग्रेसकै सिपाही रहेको उल्लेख गर्दै पुनः ‘घर फर्किन’ पाउँदा खुशी लागेको प्रतिक्रिया दिए।
मनोज कुर्मीका साथै जसपा वीरगञ्ज–१ का एकाइ अध्यक्ष दिपेन्द्र कुमार राउत, महिला सदस्य रमावती देवी लगायतले पनि पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्सा–२ का उम्मेदवार अजय कुमार चौरसियाले लोकतन्त्रको रक्षा तथा स्थायित्वसहितको सरकार निर्माणका लागि कांग्रेसलाई मत दिन सबै मतदातासँग अपिल गरे। कुर्मीको प्रवेशसँगै वीरगञ्ज–१ मा पार्टी संगठन थप सशक्त बनेको उनले विश्वास व्यक्त गरे।




