काठमाडाै,१३ फागुन । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा अवरोध पुर्याउने जो–कोहीलाई कडा कानुनी कारबाही गरिने स्पष्ट गरेको छ।
आयोगले मंगलबार जारी गरेको ध्यानाकर्षण विज्ञप्तिमा उम्मेदवार वा राजनीतिक दलको चुनावी अभियान बिथोल्ने, अवरोध गर्ने, धम्की दिने वा थुनछेक गर्नेजस्ता गतिविधि गरेमा अधिकतम दुई लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ। कसुरको प्रकृति र गम्भीरता हेरेर कैद र जरिवाना दुवै सजायसमेत हुन सक्ने कानुनी व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
हाल विभिन्न स्थानबाट उम्मेदवारका कार्यक्रमहरूमा अवरोध र अभद्र व्यवहार भएका गुनासा आएपछि आयोगले यसबारे गम्भीर चासो व्यक्त गरेको हो। निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार उम्मेदवारी दर्ता, प्रचारप्रसार वा मतदान गर्ने अधिकारमा बाधा पुर्याउनु दण्डनीय अपराध मानिन्छ।
निर्वाचन आचारसंहिताबमोजिम कुनै पनि दल वा त्यसका भातृसंगठनले आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा वा भेला बिथोल्न नपाइने स्पष्ट व्यवस्था छ। आयोगले सञ्चारमाध्यम र आफ्नै संयन्त्रमार्फत चुनावी गतिविधिको सूक्ष्म अनुगमन भइरहेको जनाएको छ।
आयोगले स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै कानुनविपरीत गतिविधि देखिएमा तुरुन्त सुरक्षा निकाय वा आयोगमा जानकारी गराउन अपिल गरेको छ। मौन अवधि र मतदान समय नजिकिँदै गर्दा सुरक्षा व्यवस्था थप कडा पारिएको पनि आयोगले जनाएको छ।




