बीरगन्ज,१३ फागुन । उपकार सेवा नेपाल को सहयोगमा बीरगन्ज महानगरपालिका–१३ नयाँटोल मुर्लीका ३० जना युवतीका लागि सञ्चालन गरिएको दुई महिने सिलाई–कटाई तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापन समारोहका अवसरमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
लामो समयदेखि सामाजिक उत्थानका क्षेत्रमा सक्रिय संस्थाले स्थानीय युवतीहरूलाई सीपमूलक प्रशिक्षणमार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ। तालिममा १५–१५ जनाको दुई समूह गरी कुल ३० जना युवती सहभागी थिए।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीको अध्यक्षतामा आयोजित समारोहमा अभिभावक पद्मा देवी सरावगी र सदस्य सुमन बगेडियाले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सिकेको सीपलाई आयआर्जनसँग जोड्न सुझाव दिए।
तालिमका मुख्य प्रशिक्षक खुश्बु प्रबिन र शोनी प्रबिनलाई विशेष सम्मान गरिएको थियो। प्रशिक्षार्थीहरूको तर्फबाट सलमा प्रबिन, सकिला प्रबिन, सजरुन प्रबिन र बिस्मिल्ला प्रबिनले तालिमले आफूहरूमा आत्मविश्वास बढाएको र भविष्यमा स्वरोजगार सुरु गर्ने हौसला मिलेको बताएका छन्।
समारोहमा सामाजिक अभियन्ता प्रकाश थारुसहित स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता सीपमूलक कार्यक्रमले महिलाको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन्।




