spot_img

मिथिलाका गुञ्जिन थाल्यो जोगिरा सररर…

spot_img
spot_img

जनकपुर,१३ फागुन । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँ–टोल यतिबेला जोगिराको मधुर लयले गुञ्जिन थालेका छन्। परम्पराअनुसार पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा साधुसन्त र श्रद्धालुले होली खेलेपछि मिथिलामा होलीको सांस्कृतिक आरम्भ मानिने चलन छ। त्यसयता गाउँ–गाउँमा जोगिरा गाइने क्रम तीव्र बन्दै गएको छ।

साँझ पर्नासाथ ढोल, मृदङ्ग, तासा, डम्फु र झ्यालीको तालमा “जोगिरा सररर…” को धुन घन्किन थाल्छ। पौराणिक प्रसङ्ग, भक्ति, प्रेम र हल्का ख्यालठट्टाले भरिएका मैथिली जोगिराले चोक–चौराहालाई सङ्गीतमय बनाउने गरेका छन्।

गौशाला नगरपालिका–५ का धनबीर कुशवाहा हरेक साँझ डम्फु र झ्याली बोकेर चोकमा पुग्छन्। शम्भु महतो, दामोदर यादवलगायत स्थानीयवासीसँग मिलेर उनीहरू बेलुकी सात बजेदेखि राति अबेरसम्म जोगिरा गाउँछन्। “होली नजिकिँदा जोगिरा नगाई हुँदैन,” उनी भन्छन्, “यसले गाउँमा भाइचारा र सद्भाव बढाउँछ।”

औरही नगरपालिका–२ मा पनि यस्तै उत्साह छ। वडाध्यक्ष दरेश यादव स्वयं सहभागी भई युवादेखि ज्येष्ठ नागरिकसम्मलाई समेटेर सामूहिक जोगिरा कार्यक्रम सञ्चालन गर्छन्। स्थानीयका अनुसार ५० भन्दा बढीको टोलीले साँझपख गाउँलाई सङ्गीतमय बनाउने गरेको छ।

महोत्तरीका विभिन्न स्थानमा पुस्ताबीचको सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा जोगिरालाई लिइन्छ। “जोगिरा केवल गीत होइन, सामाजिक एकताको सूत्र हो,” स्थानीय अगुवाहरू बताउँछन्।

यद्यपि पछिल्लो समय डिजे संस्कृतिको प्रभाव, भड्किला गीत र मदिरा सेवनका कारण केही ठाउँमा परम्परागत जोगिरा ओझेलमा पर्ने चिन्ता पनि व्यक्त गरिएको छ। स्थानीय युवाहरूले आफ्नै भाषा, लय र शब्द बचाउन सामूहिक पहल आवश्यक रहेको बताएका छन्।

यसैक्रममा रेडियो रुपान्तर मिडियाले फागुन १६ गते जोगिरा प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। समुदाय, स्थानीय तह र प्रशासनबीच समन्वय भएमा मिथिलाको यो सांस्कृतिक सम्पदा अझ सबल हुने विश्वास गरिएको छ।

होली नजिकिँदै जाँदा मिथिलाका गाउँ–गाउँमा जोगिरा पुनः जीवन्त बनेको छ, जसले यहाँको धार्मिक–सांस्कृतिक पहिचानलाई उजागर गर्दै प्रेम, सद्भाव र आपसी सम्मानको सन्देश फैलाइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय