बीरगन्ज, १३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशील कुमार कानु ले बुधबार वीरगन्ज महानगरपालिका–६ माइस्थान तथा वडा नम्बर ९ घण्टाघर–पानगल्ली क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार हुन्।
घरदैलोका क्रममा कानुले विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै बीरगन्जलाई कुशासनमुक्त र व्यवसायमैत्री सहर बनाउने प्रतिबद्धता जनाए। औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित वीरगन्जको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गर्दै उनले नयाँ राजनीतिक सोच र कार्यशैलीको आवश्यकता औंल्याए।
“चार दशकदेखि चल्दै आएको राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेन,” उनले भने, “अब सुशासन र पारदर्शितामा आधारित नयाँ राजनीतिक संस्कार आवश्यक छ।”
कानुले पर्सा देशकै महत्त्वपूर्ण जिल्ला भए पनि यहाँबाट निर्वाचित प्रतिनिधिहरूको बेवास्ताका कारण अपेक्षित विकास हुन नसकेको दाबी गरे। व्यापार–व्यवसाय, पूर्वाधार र सडकको अवस्था सुधार गर्न प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
निर्वाचित भएमा संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै योजनाबद्ध विकास अघि बढाइने उनले बताए। साथै पर्साको औद्योगिक सम्भावनालाई केन्द्रमा राख्दै ठूला विकास आयोजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो अभियानका क्रममा स्थानीय मतदाताले पनि विभिन्न समस्या र अपेक्षाहरू राखेका थिए। कानुले ती समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिएका छन्।




