काठमाडौं,१३ फागुन । रवि लामिछानेले चुनावका बेला पैसाको प्रभावमा नपरी सही उम्मेदवार छान्न मतदातालाई आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कसैले पैसा दिए लिँदा फरक नपर्ने तर गलत व्यक्तिलाई भोट दिनु ठूलो गल्ती हुने बताए।
उनले भने, “पैसाका लागि आफ्नो भविष्य नबेच्नुहोस्। कसैले पैसा दिन्छ भने त्यो जनताकै पैसाबाट आएको हो, लिनुभयो भने पाप लाग्दैन। तर गलत मान्छेलाई भोट दिनुभयो भने त्यसको असर देश र तपाईंको भविष्यमा पर्छ।”
लामिछानेले समाजलाई जात, धर्म वा समुदायका नाममा विभाजन गर्न खोज्ने शक्तिबाट सचेत रहन पनि मतदातालाई आग्रह गरे। उनका अनुसार राजनीति सक्षम र इमानदार व्यक्तिले सञ्चालन गर्नुपर्ने विषय हो।
“जात, धर्म, संस्कृति सबैको आफ्नो ठाउँमा सम्मान छ, तर देश चलाउने काम योग्य व्यक्तिले गर्नुपर्छ,” उनले भने। उनले परिवर्तनको समय आएको दाबी गर्दै देश र मधेसले नयाँ इतिहास लेख्न लागेको उल्लेख गरे।




